परमादेश जारी गर्ने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनु उपयुक्त हुन्छ : केपी शर्मा ओली
काठमाडौँ, ९ कात्तिक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन असार २८ गते परमादेश जारी गर्ने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन्।
देशका ७ सय ५३ पालिकामा मंगलबार सुरु एमालेको अधिवेशनलाई केन्द्रीय कार्यालय थापाथलीबाट सम्बोधनका क्रममा ओलीले यस्तो बताएका हुन्।
‘सर्वोच्च अदालतमा तमासा देखिएको छ। श्रीमान् न्यायाधीशहरु कसले के के गरेका थिए? अहिले आफैँ उधिन्न थालेका छन्’, ओलीले भने, ‘सर्वोच्च अदालतका पाँचैजना न्यायाधीशले परमादेश गरेका थिए भने एकजना (प्रधानन्यायाधीश) को मात्रै किन राजीनामा माग्नु हुन्छ श्रीमानहरू? पाँचै जनाले राजीनामा दिनु उपयुक्त हुन्छ।’
ओलीले सर्वोच्चको परमादेशबाट देशमा अहिले दुर्गन्ध फैलिएको पनि बताए। ‘सर्वोच्चको परमादेशबाट अहिले सुगन्ध या दुर्गन्ध के फैलिएको हो म केही पनि भन्दिनँ’, उनले भने, ‘तर अहिले अदालतलाई तमासाको थलो बनाइएको छ। न्यायपालिकालाई त्यस्तो नबनाऊँ।’
ओलीले जेठ ८ मा दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले पुन:स्थापनाको फैसला सुनाएको थियो।
त्यसबेला प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो। परमादेश दिने संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सदस्य थिए।
अहिले प्रधानन्यायाधीश जबराविरुद्ध उक्त संवैधानिक इजलासमा रहेका चार वरिष्ठसहित १५ न्यायाधीशहरूले मोर्चाबन्दी गरिरहेका छन्। उनीहरुले मंगलबार भेटेर जबराले राजीनामा दिनुपर्ने बताएका थिए। तर जबराले प्रश्न उठ्दैमा राजीनामा दिनुपर्ने हो भने प्रश्न उठेका अन्य न्यायाधीशहरु पनि राजीनामाका लागि तयार हुनुपर्ने अडान लिएका छन्।

