रिसोर्टको स्विमिङ पुलमा एक युवकको मृत्यु
चितवन, ७ जेठ – चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दाहाखानी भिउ रिसोर्टको स्विमिङ पुलमा एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । महतो आफ्ना १० जना साथीहरूसँग मगलबार साँझ ६ बजेतिर रिसोर्टमा गएका थिए ।
त्यहीँ खाजा खाइसकेपछि उनले स्विमिङ पूलमा नुहाउन गएका थिए । लामो समयसम्म नफर्किएपछि साथीहरूले खोज्दा स्विमिङ पुलको पानीमा तैरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । उनलाई उद्धार गरी राति साढे १२ बजे उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मुग्लिङबाट टोली खटिएको थियो। प्रहरीले आवश्यक अनुसन्धानका लागि मृतक महतोसँगै गएका साथीहरुलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर सोधपुछ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे आफन्तलाई जानकारी गराएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

