बस दुर्घटना हुँदा ५४ यात्रु घाइते चार जनाको मृत्यु , केहीको अवस्था चिन्ताजनक

फिदिम, ८ कात्तिक – मध्य पहाडी लोकमार्ग फिदिम खण्डको सखरखण्डे क्षेत्रमा सोमबार दिउँसो ११ बजे भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

लेटाङका सात वर्षीय प्रज्वल मगर र इलामका ३४ वर्षीय प्रमिला देवान र उहाँको सात महिनाको छोरा निश्चल देवानको मृत्यु भएको प्रहरीले जनाएको छ । नाम बतन खुल्न बाँकी रहेको एक महिलाको पनि मृत्यु भएको प्रहरी निरीक्षक डम्बर डाँगीले बताउनुभयो ।

पाँचथरको कुम्मायक गाउँपालिका र फिदिम नगरपालिको सिमा निबुखोलाबाट यात्रु लिएर झापा जाने क्रममा को १ ख ३८६५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा ६५ जना घाइते भएकामा चारको मृत्यु भएको हो । थप उपचारका लागि झापातर्फ चार जनालाई रेफर गरिएकोमा बाटैमा एक जनाको मृत्यु भएको हो । तीन जनाको फिदिम स्थितकै अस्पतालहरुमो मृत्यु भएको हो ।

तत्काल सघन उपचारका लागि थप दश जनालाई रेफर गर्नु पर्ने अवस्था रहेकोमा एम्बुलेन्स अभावले समस्या भइरहेको अवस्था छ । अन्य घाइतेको पाँचथर फिदिमको पाँचथर अस्पतालका साथै समर्पित र पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ ।
चालक सहचालक दुबै गम्भीर घाइते अवस्थामै रहेकाले दुर्घटनाको कारण बुझ्न नपाइरहेको र यस बारेमा अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।
यहाँको कुम्मायकदेखि विभिन्न क्षेत्रमा पुग्नलाई इलाम, झापा, धनकुटा, धरानसंग जोडिने मुख्य बाटो तमोर कोरीडोर हालैको बाढी पहिरोका कारण अबरुद्ध छ । त्यसैगरी यासोक–उत्तरे–राँके र यासोक–उत्तरे–रवि–लारुम्बा सडक खण्ड पनि अबरुद्ध छ । अहिले एउटा मात्र विकल्पको बाटो यासोक–फिदिम सडक खण्ड सुचारु अवस्यामा छ । यो अवस्थाले यात्रुका बढी चाप बढेसंगै यस क्षेत्रमा दुर्घटनाको जोखिम बढेको हुनसक्ने देखिएको छ ।

Facebook Comments Box