शिक्षालाई व्यापारिकरण गर्दाको उदाहरण : शुल्क नतिर्ने विद्यार्थीलाई गर्मी र अँध्यारो कोठामा परीक्षा

जनकपुरधाम, २२ असोज – जनकपुरधाम उपमहानगरपालिका– १ स्थित मदरटेरेसा पब्लिक स्कूलले शुल्क बाँकी विद्यार्थीलाई टिनको छाना भएको साँघुरो कोठामा परीक्षा लिने गरेको पाइएको छ ।

समयमा शुल्क नबुझाएको भन्दै सो स्कूलले सजायँस्वरुप विद्यार्थीलाई गर्मीका बेला टिनको छाना भएको कोठामा परीक्षा लिने गरेको हो । चर्को गर्मी थेग्न नसक्दा कतिपय विद्यार्थीले परीक्षा नै छाडेका छन् ।

टिनको छाना भएकाले भित्र बस्ने अवस्था छैन । टिनको छाना भएको कोठामा न हावा पुग्छ, न उज्यालो । दिउँसै अँध्यारो उक्त कोठामा गर्मीले विद्यार्थीको शरीर पसिनाले भिज्छ, तर पनि घण्टौं बसेर परीक्षा दिनुपर्ने उनीहरुको बाध्यता छ ।

परीक्षा सकेपछि कक्षा ५ मा अध्ययनरत विद्यार्थी कमल महतोले पैसा नबुझएका कारण आफूहरुलाई उक्त कोठामा परीक्षा लिने गरेको बताए । उनका अनुसार कक्षा १ देखि ५ सम्मका शुल्क बुझाएका विद्यार्थीले पक्की भवनमा परीक्षा दिने गरेका छन् ।

स्कूलले टिनको छाना भएको कोठामा परीक्षा लिने भएपछि आफ्ना छोरा–छोरीले परीक्षा नै छाडेको अभिभावक आभास यादवले गुनासो गरे । उनले भने, ‘छोरी अविज्ञा कक्षा १ र छोरा अंश कक्षा २ मा पढ्छन् ।

यसपालि परीक्षा अगावै पैसा बुझाउन सकेनौं । त्यसैले उनीहरुलाई गर्मी नै सहन नसक्ने टिनको छाना भएको कोठामा परीक्षा लिइयो । पहिलो दिन त जसोतसो परीक्षा दिए, दोस्रो दिनबाट परीक्षा दिन छाडे ।’

विद्यार्थीलाई मानसिक दबाब दिएर स्कूलले परीक्षा लिएर अपराध गरिरहेको उनले आरोप लगाए । चर्को गर्मीमा परीक्षा दिएर छोरा–छोरी घर पुग्दा रोएको उनले सुनाए ।

विद्यार्थीले सास्ती भोग्नुपर्दा विद्यार्थीले अभिभावकलाई शुल्क तिर्न दबाब दिने र त्यसपछि बाध्य भएर अभिभावक शुल्क बुझाउन आउने मान्यताका साथ स्कुलले त्यस्तो नीति बनाएको बुझिएको छ ।

स्कूलका प्रिन्सिपल गोबिन्दचन्द्र बाबुले शुल्क बाँकी रहेकै कारण टिनको छाना भएको गर्मी कोठामा विद्यार्थीलाई राखेर परीक्षा नलिएको बताउँछन् । अभिभावकले गुनासो गरेपछि अभिभावक यादवलाई प्रिन्सिपलले उल्टै प्रश्न गरे, ‘तपाईं ‘हल टिकट’ लिन किन आउनु भएन ?’

अभिभावक स्वयम् स्कूलमा उपस्थित भएर शुल्क तिरेपछि परीक्षामा सहभागी हुन विद्यार्थीका लागि ‘प्रवेश पत्र’ दिइन्छ । त्यसलाई नै ‘हल टिकट’ भन्ने गरिएको छ । यदि शुल्क बाँकी छ र विद्यार्थीले ‘प्रवेश पत्र’ लिएका छैनन् भने उनीहरुलाई शिक्षकले अनेक सजायँ दिन्छन् ।

Facebook Comments Box