नेपाल पत्रकार महासंघको अगुवाईमा पत्रकारहरुको माइतीघर मण्डलामा प्रदर्शन
काठमाडौँ, २० असोज – विभिन्न सञ्चारगृहमा काम गरेबापत पारिश्रमिक नपाएको भन्दै पत्रकारहरु आन्दोलित भएका छन् । नेपाल पत्रकार महासंघको अगुवाईमा पत्रकारहरुले बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनलाई सम्बोधन गर्दै पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चारगृह सञ्चालकले पत्रकारको मर्म नबुझेका कारण आन्दोलन गर्न बाध्य भएको बताए । आगामी दिनमा श्रमको मूल्य नतिर्ने सञ्चारगृहका सञ्चालकहरुको घरमै पुगेर धर्ना बस्न बाध्य हुने उनले चेतावनी दिए ।
‘तपाईंहरुले तत्काल श्रमजीवीका समस्याहरु समाधान गर्नुभएन भने तपाईंहरुको सञ्चारगृहमा ताला लगाउनु परे पनि हामी पछाडि हट्दैनौं,’ उनले भने, ‘पत्रकार महासंघले प्रेस स्वतन्त्रता र श्रमको अधिकारको पक्षमा कहींकतै सम्झौता गर्दैन ।
आज माइतीघर मण्डलामा छौं । भोलिदेखि हामी तपाईंहरुको सञ्चारगृह र तपाईंहरुको निवासको गेटमा धर्ना दिनु नपरोस् भन्ने चेतावनी दिन चाहन्छु ।’
उनले श्रमजीवी ऐन लागू गर्न सरकारसँग माग पनि गरे । श्रमजीवी ऐनमा समस्या भए र संशोधन आवश्यक भए महासंघ छलफल गर्न तयार रहेको पनि उनले उल्लेख गरे ।
प्रदर्शनमा पत्रकारहरुले ‘श्रमजीवी पत्रकार ऐन कायम गर’, ‘पेसागत आन्दोलन रक्षाका लागि आन्दोलन जारी छ’, ‘हामी पत्रकार, चाहन्छौं श्रम अधिकार’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

