यसपालि हिले दसैं हुने सम्भावना, आज देशभर आंशिक देखि सामान्य बदली हुनेछ थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना

काठमाडौंँ, १९ असोज – नेपालबाट मनसुन बाहिरिने औसत मिति गुज्रेको तीन दिन भइसकेको छ। तर मनसुन हट्ने संकेत अझै नदेखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अरू हप्ता दस दिनसम्म मनसुन नेपालबाट बाहिरिने लक्षण देखिएको छैन।

‘घटनास्थपनाका दिनसम्म पनि वर्षा हुने संकेत देखिएको छ’, मौसमविद् मानन्धरले भनिन्, ‘फुलपातिसम्म जाने नजाने सम्भावना अलि कम छ।’ ​
मौसमविद् मानन्धरका अनुसार अहिलेसम्मकै लामो समय नेपालमा मनसुन सन् २०१३ मा अक्टोबार १९ तारिखसम्म बसेको थियो भने यसपछि पनि २/३ वर्षअगाडि अक्टोबर १३ तारिखसम्म मनसुन नेपालमा रहेको थियो।

‘अहिले त भर्खर अक्टोबर ५ तारिख भएको छ, यसपटक १९ तारिखसम्मै मनसुन रहने सम्भावना अलि कम देखिएको छ’, उनले भनिन्। ​मंगलबार बागमती, लुम्बिनी र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको छ। प्रदेश १ र २ मा पनि पानी परेको थियो। मौसमविद् मानन्धरका अनुसार गत २४ घण्टादेखि देशका विभिन्न स्थानमा पानी पर्ने, रोकिने र फेरि पर्ने क्रम जारी छ।

‘अब वर्षा भएका ठाउँमा पानी बिस्तारै रोकिने क्रममा छ’, मौसमविद् मानन्धरले भनिन्, ‘तर बिहानभरि घाम लागेजस्तो भए पनि दिउँसो फेरि बादल लागेर साँझ वा राति वर्षा हुने सम्भावना छ।’ उनका अनुसार काठमाडौं उपत्यकामा पनि २४ घण्टायता पानी पर्ने रोकिने फेरि पर्ने क्रम जारी छ।

‘अहिले पनि कतै कतै सिमसिम पानी परिरहेको हुन सक्छ’, उनले भनिन्, ‘अब रोकिने क्रममा छ। तर फेरि दिउँसो बादल लागेर साँझ वा राति पानी पर्ने सम्भावना छ।’ उनका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४० मिलिमिटर वर्षा भएको छ। यो भनेको मध्यम वर्षा हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम आंशिक देखि सामान्य बदली हुनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

Facebook Comments Box