असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने
काठमाडौँ, ७ असोज – काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि यही असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ।
यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो।
यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट खोल्नुपर्ने बताउदै आएका थिए ।
भोलि सडक मर्मतसम्भारको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँगको छलफलपछि उचित निर्णय लिने सहमति भए पनि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।
उनले सडकका कारण समयमा गाडी आउन नसके त्यसको जवाफदेही आफूहरु नहुने पनि स्पष्ट पारे। महासंघले भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ।
महासचिव सिटौलाले भने, ‘विभिन्न ठाउँमा विभिन्न ढंगबाट छलफल भएका छन्, नेपालीहरुको महान पर्व विजयादशमी,दीपावली, छठ लगायतका यी महत्वपूर्ण पर्वमा हरेक वर्ष चाडबाडमा अग्रिम टिकटको व्यवस्था एकमहिना, १५ दिन पहिला गर्ने गरिन्थ्यो, परम्परा आएको थियो, पोहोर कोभिड १९ को कारणले गर्दा अग्रिम टिकट नै नखोली सामान्य ढंगबाट यात्रुहरु पनि त्रसित भएको अवस्थाले सबै मिलेर यात्रुहरुको व्यवस्थापन गर्यौं, नेपालभर वर्षाको कारणले सडकहरु बिग्रिएका छन्।’
बाटो अवरुद्ध भएर गाडी आउन सकेन भने त्यसको जवाफदेही आफूहरु नहुने उनको भनाइ छ। असोजको ११ गतेबाट अग्रिम टिकटको सुरु हुने भए पनि त्यहाँबाट ठाउँँ, यात्रुको चापको परिस्थिति हेरेर क्रमशः अघि बढ्ने उनले बताए। महासंघका महासचिव सिटौलाले नागरिक सहायता कक्षहरु राजधानीका बसपार्क लगायतका सातै प्रदेश र सबै जिल्लामा राख्न छलफल भएको जानकारी दिए।
उनले अनलाइन प्रविधिमाफत् बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्थाको सुरुवात गरेका यातायात कम्पनीहरुबाट सहजै बुकिङ गर्न सकिने बताए।

