शिक्षासेवीको निधनमा गाउँपालिकाले दियो सार्वजनिक बिदा

खोटाङ, १७ भदौ – शिक्षासेवीको निधनमा खोटाङको जन्तेढुंगा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटा निवासी शिक्षासेवी रेवतीरमण कोइरालाको निधनमा गाउँपालिकाले बिहीबारका लागि शोक मनाउन बिदा दिएको हो ।

२३ असार २००३ मा जन्मिएका कोइरालाको बिहीबार बिहान ७ बजे निधन भएको हो । कोइराला चिसापानी माविका पूर्वप्रधानाध्यपक हुन् । उनलाई सो क्षेत्रका शिक्षासेवी, शैक्षिक क्षेत्रका हस्ती एवं समाजसेवीका रुपमा सम्मान गर्ने गरिएको गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले बताए ।

‘शिक्षाको क्षेत्रमा उहाँको महत्वपूर्ण योगदान छ । उहाँहरुकै देनले हामी यो ठाउँमा छौँ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘यस दुःखद घडीमा गाउँपालिका र गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयमा एकदिन शोक बिदा दिने निर्णय गरेका हौँ ।’ जन्तेढुंगा गाउँपालिकाका पूर्वशिक्षक डम्बरसिं राई, नरनारायण प्रधान, रेवतीरमण कोइरालालाई प्रजातन्त्र आएसँगै स्थापना भएका विद्यालयका प्रथम गुरुका रुपमा सम्मान गर्ने गरिएको छ ।

Facebook Comments Box