जिल्ला अस्पताल स्तरोन्नतिको तयारी, ५० शय्याको भवन बन्दै

खोटाङ, १४ भदौ – जिल्ला अस्पताल खोटाङको ५० शय्याको भवन निर्माणको तयारी थालिएको छ । जिल्ला अस्पताललाई २५ देखि ५० शैय्यामा स्तरोन्नति गर्ने संघ सरकारको नीति तथा कार्यक्रमअनुसार जिल्ला अस्पतालको ५० शैय्याको भवन निर्माणको तयारी थालिएको हो ।

हालको १५ शैय्याको जिल्ला अस्पतालको विरामी भर्ना गर्ने वार्ड, डेलीभरी वार्ड, शल्यक्रिया कक्ष, इमरजेन्सी वार्डलगायत रहेको भवनलाई भत्काएर नयाँ भवन निर्माणको तयारी थालिएको जिल्ला अस्पतालका प्रमुख डा. बैभव मल्लिकले बताए ।

४० मिटर लम्बाई र २०.५ मिटर चौडाई हुने चार तले भवन निर्माणको काम श्यामसुन्दर/राम सुन्दर नेपाल/फूलवारी जेभीले लिएको छ । संघीय सरकारको करिब २१ करोडको लागतमा ३० महिनाभित्र भवन निर्माणको काम सक्नेगरी गत असारमा अस्पतालको भवन निर्माणको ठेक्का सम्झौता गरिएको निर्माण कम्पनीका इन्जिनियर राजकिशोर शाहले बताए ।

२०४९ साल वैशाख १ गतेमा स्थापना गरिएको अस्पतालको नयाँ भवन निर्माणका लागि पुरानो भवन हटाउन सुरु गरिएको छ । उपचार सेवालाई निरन्तरता दिनका लागि पुरानो भवन भत्काउनअघि नजिकै प्रि–फ्यावको अस्थायी भवन बनाउन घडेरी सम्याउन थालिएको छ ।

गत ३ भदौदेखि अस्थायी भवन बनाउन घडेरी सम्याउन सुरु गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए । चार तले भवनको पहिलो तलामा ओपिडी कक्ष, इमरजेन्सी कक्ष, इमरजेन्सी अपरेसन कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्यूरिटी रुम बनाइने छ ।

दोस्रो तलामा प्रसूति सम्बन्धी सेवा तथा प्रसूति सम्बन्धी अप्रेसन, तेस्रो तलामा आईसीयू कक्ष, आइसोलेसन कक्ष, क्याविन वार्ड तथा चौथो तलामा प्रशासन, लेखा, सेमिनार हल लगायतका संरचना निर्माण गरिने जनाइएको छ । स्थापनाकालमा डा. प्रकाश बिष्टले जिल्ला अस्पतालमा सेवा गरेका थिए ।

Facebook Comments Box