कोरोना भाइरसको उत्पत्तीबारे नेपालले निष्पक्ष अडान लिएको भन्दै चीनको प्रशंसा
काठमाडौँ, १४ भदौ – कोरोना भाइरसको उत्पत्तीबारे नेपालले वस्तुगत र निष्पक्ष अडान लिएको भन्दै चीनले प्रशंसा गरेको छ । साथै चीनले कोरोना भाइरस उत्पत्तीको विषयलाई राजनीतिकरण गर्न भएका प्रयासलाई चिर्न मिलेर काम गर्न चाहेको उल्लेख गरेको छ ।
काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरसको उत्पतीको बारेमा नेपालले चीनलाई महत्वपूर्ण सहयोग गरेको भन्दै धन्यवाद दिएका छन् । भाइरस उत्पत्तीको विषयलाई राजनीतिकरण गर्ने प्रयासलाई कसैको समर्थन नभएको समेत उनले उल्लेख गरेका छन् ।
केही समय अगाडि ८० भन्दा बढी मुलुकले भाइरसको उत्पत्ती सम्बन्धी विषयलाई राजनीतिकरण गर्ने प्रयासको विरोध गर्दै विश्व स्वास्थ्य संगठनलाई पत्र पठाएको समेत उनले उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘नेपाल सहित ८० भन्दा बढी मुलुकले संगठनका महानिर्देशकलाई पत्र पठाएका छन्, कूटनीतिक नोट पठाएका छन् र उनीहरुले राजनीतिकरण गर्ने प्रयासको विरोध गर्दै चीन र विश्व स्वास्थ्य संगठनको प्रतिवेदनलाई सम्मान गर्नुपर्ने बताएका छन् ।’
त्यसैगरी बिभिन्न देशका ३०० भन्दा बढी राजनीतिक दलले सो सोही आशयको पत्र संगठनलाई पठाएका थिए । चिनियाँ दूतावासका प्रवक्ताले कोरोना भाइरस उत्पत्तीको विषयलाई राजनीतिकरण गर्न भएका प्रयासलाई चिर्न मिलेर काम गर्न चाहेको उल्लेख गरेका छन् ।
कोरोना शुरु भएदेखि नै एकले अर्काेलाई समर्थन गरेको उल्लेख गर्दै दूतावासका प्रवक्ताले दुई मुलुकले भाइरसविरुद्ध कसरी सहकार्य गर्नुपर्छ भनी उदाहरण देखाएको उल्लेख गरेका छन् ।
प्रवक्ताले अहिलेसम्म अनुदान र व्यापारिक रुपमा नेपाललाई ७४ लाख डोज कोरोना खोप उपलब्ध गराएको र चीन नेपाललाई खोप प्रदान गर्ने सबैभन्दा ठूलो मुलुक भएको उल्लेख गरेका छन् ।
चीनले नेपालसँगको कोरोना महामारीविरुद्ध सहकार्यलाई अझ सुदृढ बनाउने बताउँदै आगामी दिन आफ्नो क्षमताभित्र रहेर थप खोप उपलब्ध गराउने बताएका छन् ।

