आज देखि देशभर केही दिनसम्म वर्षाको मात्रा बढ्ने र कतिपय स्थानमा धेरै भारी वर्षासमेत हुने सम्भावना
काठमाडौँ, ९ भदौ – आजदेखि केही दिनसम्म वर्षाको मात्रा बढ्ने र कतिपय स्थानमा धेरै भारी वर्षासमेत हुने सम्भावना रहेकाले सजग रहन मौसमविद्ले आम नागरिकलाई आग्रह गरेका छन्।
महाशाखाले जारी गरेको विशेष मनसुन बुलेटिनअनुसार नेपालको पूर्वी तराई क्षेत्रनजिक मनसुनको न्यून चापीय रेखा रहेका कारण एक–दुई दिन अगाडीबाटै नेपालमा मनसुन केही सक्रिय छ। आज रातिबाट त्यो रेखा अझ नजिक आउने र केही दिनसम्म रहने सम्भावना छ।
याे प्रणालीका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेकाे छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम सामान्यदेखि पूर्णसम्म बदली रहेकाेछ। प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
महाशाखाले २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन हुन अनुरोध गरेका छ।

