कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट लिन सुझाव

काठमाडौँ, २८ साउन – कक्षा १२ को स्थगित परीक्षाको दीर्घकालीन रूपमा निकास दिन उपयुक्त हुने सुझाव दिइएको छ । परीक्षा दुई–दुई पटक स्थगित गरिएको र अझै पनि भौतिक रूपमा परीक्षा हुन कठिनाइ हुनसक्ने भएकाले विकल्प दिएर परीक्षा सञ्चालन गर्नु उपयुक्त हुने अभिभावकको सुझाव छ ।

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले कक्षा १२ को परीक्षा विद्यार्थीको भौतिक उपस्थिति तथा अनलाइन विधिबाट सञ्चालन गर्नुपर्ने बताउनुभयो । लामो समय परीक्षाबारे अन्योल हुनुभन्दा दुवै विधिबाट परीक्षा सञ्चालन गरेर निकास दिनुपर्ने उहाँको जोड छ । उहाँले विद्यालयमा कक्षा ११ को परीक्षा सञ्चालन हुने, विश्वविद्यालयको उच्च शिक्षाका परीक्षा पनि नियमित हुने तर कक्षा १२ को मात्र परीक्षा स्थगित गर्नुभन्दा विकल्प दिनुपर्ने बताउनुभयो ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घका अध्यक्ष कृष्ण थापाले वैकल्पिक विधिको माध्यमबाट कक्षा १२ को परीक्षा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले यसका लागि सम्भव भएका जिल्लामा भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने, विगतको मूल्याङ्कनका आधारमा आन्तरिक मूल्याङ्कन गर्ने वा प्रविधिको माध्यमबाट परीक्षा लिनसक्ने तीन विकल्प रहेको बताउनुभयो ।

उहाँले परीक्षा लामो समय अझै नहुने अवस्था देखिएमा वैकल्पिक विधिबाट अघि बढ्नुपर्ने सुझाव दिँदै कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई), कक्षा ११ को परीक्षासमेत आन्तरिक मूल्याङ्कनको माध्यमबाट गरिएकाले कक्षा १२ को परीक्षाको गुणस्तर कायम गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनका लागि वैकल्पिक विधिको बहस प्रारम्भ नगरिने र केही साता प्रतीक्षा गरिने जनाएको छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षाका लागि केही साता कुर्नुपर्ने अवस्था रहेको बताउनुभयो । सरकारले भदौ मध्यपछि कोरोना भाइरसको सङ्क्रमण घट्ने आकलन गरेको भन्दै उहाँले त्यसपछि परीक्षा सञ्चालन गर्ने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो । हाल शिक्षक, अभिभावकले खोप प्राप्त गरिरहेको र १८ वर्ष उमेर पूरा भएका विद्यार्थीले पनि यस अवधिमा खोप लगाउने भएकाले अर्को महिनासम्म परीक्षाका लागि वातावरण बन्ने उहाँको भनाइ छ ।

अध्यक्ष पौडेलले कक्षा १२ को परीक्षालाई विश्वविद्यालय र कक्षा ११ को परीक्षासँग तुलना नगर्न आग्रह गर्नुभयो । त्रिभुवन विश्वविद्यालयको परीक्षा भदौ ५ गतेसम्म सञ्चालन गर्ने र त्यसपछि सीसीएमसीसितको समन्वयमा मात्र परीक्षाका बारेमा निर्णय गर्ने जनाइएको छ ।

Facebook Comments Box