अबिरल वर्षासँगै पहिरोबाट तनहुँको बन्दीपुर गाउँपालिकामा ६७ घर परिवार विस्थापित
तनहुँ, २४ असार – अबिरल वर्षासँगै पहिरोबाट तनहुँको बन्दीपुर गाउँपालिकामा ६७ घर परिवार विस्थापित भएका छन् । जोखिममा रहेका ६७ घर मध्ये १७ घर पूर्ण रुपले भत्किएको १५ घर आंशिक रुपमा भत्किएको गाउँपालिकाको उपाध्यक्ष करुणा गुरुङले बताउनुभयो । वडा नं. ६ को खहरेका पूरै वस्ती विस्थापित भएको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो ।
सो वस्तीका ४८ घर परिवार नै उच्च जोखिममा रहेका छन् । जोखिममा रहेको खहरेका १३ घर भत्किएको र नौ घरमा आंशिक क्षति पुगिसकेको छ । यसैगरी वडा नं. को रामकोटमा ४ घर भत्किएको छ भने ३ घरमा आंशिक क्षति पुगेको छ । यसैगरी वडा नम्बर २ को धारापानीमा १२ घर परिवार विस्थापित भएका छन् । धारापानीमा तीन घरमा आंशिक क्षति भएको छ ।
‘स्थलगत जानकारी लिने क्रममा १७ घर भत्किएको, १५ घर आंशिक क्षति र बाँकी उच्च जोमिमा गरी ६७ घर परिवारलाई पहिरोले विस्थापित बनाएको छ’’ उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा राखिएको र मानवीय नोक्सान नभएको उपाध्यक्ष करुणाले जानकारी दिनुभयो ।
एक जना वेपत्ता
अविरल वर्षाको कारण आएको पहिरोमा पुरिएर ऋषिङ गाउँपालिका–८ का ४० वर्षका खुमबहादुर थापा बिहीबार विहान ६ बजे बेपत्ता हुनु भएको छ । वेपत्ता थापाको खोजी भईरहेको र हालसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । गोठमा आएको भल तर्काउने क्रममा पहिरोले पुरिँदा थापा बेपत्ता डिएसपी तिमिल्सिनाले जानकारी दिनुभयो ।

