विपद् पूर्वतयारीमा जुट्दै स्थानीय तह

डोटी, ५ असार – वर्षातका कारण जिल्लामा बाढीपहिराको जोखिम बढ्दै गएपछि यहाँका दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह विपद् पूर्वतयारीमा जुट्न थालेका छन् । विपद्का कारण हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्नका लागि यहाँका स्थानीय तहले पूर्वतयारी थालेका छन् । गत वर्षभन्दा यस वर्ष पानी धेरै आउने जल तथा मौसमविद्ले पूर्वानुमान गरेअनुसार जिल्लामा बाढी तथा पहिरो गई क्षति हुनसक्ने भएकाले जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा सार्नेलगायतका तयारीमा यहाँका स्थानीय तह लागिपरेका छन् ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण हुनसक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि आवश्यक तयारीमा स्थानीय तह जुट्न थालेको सुदूरपश्चिम गाउँपालिका महासङ्घका अध्यक्षसमेत रहनुभएका जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष पानी धेरै पर्ने मौसमविद्ले अनुमान गरेअनुसार जिल्लामा क्षति हुन सक्ने अवस्था देखिएकाले त्यसको न्यूनीकरणका लागि हामी लागिपरेका छौँ, क्षति हुन नदिन सबै सजक भएका छौँ ।”

दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, जोरायल, सायल, बडिकेदार, आदर्श, बोगटान फुड्सिल, पूर्वीचौकी तथा केआइसिंह गाउँपालिका बाढी पहिराबाट नागरिकसहित अन्य क्षति हुन नदिनका लागि विपद् पूर्वतयारीमा जुट्न थालेको बताइएको छ । वर्षातका समयमा बाढी, पहिराका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरणलाई दृष्टिगत गर्दै आवश्यक तयारीमा जुटेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्षातका कारण बर्षेनि सेती नदीमा बाढी आएर क्षति गर्दै आएको छ, हामीले यस वर्ष क्षति हुन नदिनका लागि आवश्यक तयारी गर्न थालेका छौँ, जनधनको क्षति रोक्न पूर्वकोसिस गर्नेछौँ ।” यसैगरी शिखर नगरपालिकाले पनि आफ्नो नगरभित्रका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तर कार्यमा लागिरहेको नगर उपप्रमुख धौलीदेवी रावले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षाअघि जोखिमयुक्त बस्तीलाई अस्थायीरुपमा सुरक्षित ठाउँमा सारेर जीउधनको सुरक्षा गर्ने तयारीमा नगरपालिका लागिपरेको छ ।

बाढीपहिरो जस्ता दैवी विपत्तिका कारण यहाँका नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले विपद् पूर्वको तयारीका साथै पछिको उद्धारलगायतका व्यवस्थापनका लागि जनप्रतिनिधिको सहयोगमा कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सवारी साधन, सवारी चालकलाई ‘हाई अलर्ट’ मा राख्ने गरी तयारी गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “विपद् आइपरे समाधान गर्नका लागि प्रयोग गर्न सबै जनशक्ति तयारी अवस्थामा राखेका छौँ, जनधन तथा नागरिकको सुरक्षा कसरी गर्ने भन्ने विषयमै केन्द्रित भएका छौँ ।”

यसैगरी जिल्ला विपदु् व्यवस्थापन समितिले वर्षातका कारण यहाँका ग्रामीण भेग जाने सडक पहिराका कारण बन्द हुन सक्ने भएकाले स्थानीय तह तथा अन्य निजी क्षेत्रका डोजर, स्काभेटर समन्वय गरी बाटो पुनः सञ्चालन गर्ने, जुनसुकै बेला पनि समस्या आउन सक्ने भएकाले सवारी चालक तथा साधनको व्यवस्थापन गर्ने र विपद्पछिका कार्यमा उद्धारका लागि सबै निकाय संयुक्तरुपमा तत्काल परिचालन गर्ने निर्णयसमेत गरेको छ ।

जिल्लाका कुनै पनि भागमा घटना घटेको खबर पाउनासाथै आवश्यक जनशक्ति तथा उपकरणसहित पुग्ने गरी समूह निर्माण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । वर्षातको समयमा बाढीपहिरो आई क्षति हुन सक्ने भएकाले त्यसको समाधान गर्नका लागि र तत्काल घटना घटेका ठाउँमा जनशक्ति परिचालन गर्न आवश्यक पर्ने हुँदा त्यसका लागि जिल्लामा कार्यरत प्रहरीलाई बिदा दिन बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो ।

Facebook Comments Box