गण्डकी प्रदेशका मुख्यमन्त्री नेपाली विश्वासको मत लिँदै
गण्डकी, ४ असार – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको छ । आफूलाई विश्वासको मत प्रदान गर्न प्रदेशसभा सदस्यहरूसँग आग्रह गर्दै उहाँले सरकार गठन भएको एक हप्ता पनि नपुगेका अवस्थामा संवैधानिक एवम् कानूनी व्यवस्था समेतका आधारमा नीति तथा कार्यक्रम एवम् बजेट ल्याइएको बताउनुभयो ।
सरकारले नीति तथा कार्यक्रम एवम् बजेटमा प्रदेश भित्रका समूर्ण नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले कोरोनाको रोकथाम र नियन्त्रणका लागि आवश्यक स्रोत साधन उपलब्ध गराउने बताउनुभयो । महिलाले भोग्ने गरेको प्रमुख समस्या स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सरको शल्यक्रिया गर्ने क्रममा लाग्ने खर्च निःशुल्क गर्न सरकारले प्रतिवद्धता व्यक्त गरेको उहाँले बताउनुभयो ।
त्यस्तै दुर्गम क्षेत्रमा जटिल अवस्थामा रहेका गर्भवती, सुत्केरी, नवजात शिशुलाई उद्धार गरी सुविधासम्पन्न अस्पतालसम्म पु¥याउने कुरामा पनि यस सरकारले प्रतिवद्धता व्यक्त गरेको उहाँले बताउनुभयो । शिक्षा, स्वास्थ्य लगायतका हरेक क्षेत्रको विकासलाई लक्षित गर्दै सरकार अघि बढेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । सरकारले जनअपेक्षानुसारका कामलाई अघि बढाएको उल्लेख गर्दै उहाँले राजनीतिक स्थिरता कायम गर्दै प्रदेशसभालाई विघटनको दुर्घटनाबाट बचाउनका लागि पनि आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गर्नुभयो ।
२९ जेठमा नेपालको संविधान धारा १६८ को उपधार ५ अनुसार मुख्यमन्त्री नियुक्त हुनुभएका पोखरेलले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यही व्यवस्था अनुरुप उहाँले आज विश्वासको मत लिन लाग्नुभएको हो । ६० सदस्यीय गण्डकी प्रदेशसभामा पोखरेललाई नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ ९सभामुखबाहेक०, जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र प्रदेशसभा सदस्य १ सहितको समर्थन छ भने प्रमुख प्रतिपक्षी दल एमालेसँग २७ जना प्रदेशसभा सदस्य रहनुभएको छ ।
राष्ट्रिय जनमोर्चाका तीन मध्ये एक प्रदेशसभा सदस्य कृष्ण थापालाई उहाँकै पार्टीले कारबाही गरिसकेको छ । विश्वासको मतको प्रस्ताव सम्बन्धी छलफलमा प्रदेशसभा सदस्यहरूले भाग लिइरहनुभएको छ ।

