जेठ १५ गते अध्यादेशबाट पूर्ण बजेट ल्याउने सरकारको तयारी
काठमाडौँ, ११ जेठ – सरकारले अध्यादेशबाटै पूर्ण बजेट ल्याउने तयारी गरेको छ। विपक्षीहरुले अध्यादेशबाट बजेट ल्याउन आवश्यक नभएको बताइरहँदा अर्थ मन्त्रालय पूर्ण बजेट ल्याउने तयारीमा जुटेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते अध्यादेशबाट बजेट आउने सार्वजनिक रुपमै बताइसकेका छन्।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गरेकाले लोकप्रिय कार्यकम ल्याउने धेरैको अनुमान छ। प्रधानमन्त्री आफैँले साउन १ देखि वृद्धभत्ता बढाउने घोषणा यसअघि नै गरेका छन्। यद्यपि उनले कोरोनालाई बजेटले उच्च प्राथमिकता दिएर बजेट आउने बताएका छन्। ‘कोरोनासम्बन्धी बजेटलाई प्राथमिकता दिइन्छ’, उनले बालुवाटारको पत्रकार सम्मेलनमा भनेका थिए, ‘विकासका नयाँ आयोजना आउँदैनन्। पुराना सबैले निरन्तरता पाउँछन्।’
निर्वाचनपछि आउने सरकारलाई बोझ हुने गरी बजेट नआउने उनको दाबी थियो। तर बजेटमा वृद्धभत्ता, कर्मचारीको तलब वृद्धिलगायतका निर्णय हुँदा सरकारको सार्वजनिक दायित्व बढ्ने र पछि आउने सरकारलाई अप्ठ्यारो हुने कतिपय अर्थविद्को भनाइ छ। अर्थ मन्त्रालय स्रोतका अनुसार एक तिहाइ वा ३ – ६ महिनाको लागि बजेटको विषयमा कुनै छलफल नै भएको छैन।
‘मन्त्रालय पूर्ण बजेट ल्याउने तयारीमा लागेको छ’, अर्थका एक अधिकारीले भने, ‘संविधानमा संसद् विघटनको अवस्थामा कसरी बजेट ल्याउने कतै लेखेको छैन। त्यसैले मन्त्रालयले पूर्ण बजेटकै तयारी गरेको छ।’ बजेट छलफलका क्रममा कांग्रेसनिकट अर्थविद्ले अल्पमतको सरकारले पूर्ण बजेट ल्याउन नहुने धारणा मन्त्रालयसमक्ष राखिसकेका छन्। ‘संविधान तथा कानुनमा स्पष्ट व्यवस्था नभए सबैका आ–आफ्ना धारणा हुन्छन्। अहिलेको सरकारले पूर्ण बजेट नै ल्याउँदै छ’, ती अधिकारीले भने।

