मलेसियाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ, ६ वैशाख – कुशल भुर्तेल र करण केसी चम्किएपछि त्रिकोणात्मक टि-२० सिरिजमा नेपालले मलेसियाविरुद्ध सानदार जित निकालेको छ ।
आज भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित निकालेको हो । नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। नेपालले सिरिज अन्तर्गतको आफ्नो तेस्रो खेलमा भोलि नेदरल्याण्ड्ससँग खेल्नेछ ।
मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १२ दशमलव १ ओभरमा १ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कुशल भुर्तेलले ६१ रनको रनको अविजित पारी खेल्नुभयो ।
कुशलले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गर्नुभयो । आसिफ शेख ४२ रन जोड्दा क्याच आउट हुन पुग्नुभयो । २९ बलको सामना गरेका आरिफले ४ चौका र १ छक्का प्राहार गर्नुभयो । दिपेन्द्र सिंह ऐरि भने ६ रनमा नटआउट रहनुभयो । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको मलेसिया १६ दशमलव ५ ओभरमा १ सय ९ रन जोड्दा अलआउट भयो। कसिलो बलिङ गरेका नेपालका बलरहरुले मलेसियाका ब्याट्सम्यानलाई लामो समय क्रिजमा टिक्न दिएनन्।
लगातार विकेट पतनपछि दबाबमा आएको मलेसियाका लागि सयद अजिजले जोडेको २७ रन नै सर्वाधिक बन्न पुग्यो। मलेसियाका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। करण केसीले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिनुभयो । सोमपाल कामी, कुशल मल्ल, साहब आलम र दिपेनद्र सिंह ऐरिले एक एक विकेट लिनुभयो । ऐरिले टि-२० आइमा आफ्नो करियरको पहिलो विकेट लिनुभएको हो । यसअघि उहाँले एक दिवसीय खेलमा २ विकेट लिनुभएको थियो ।
कुशल नेपालबाट करियरको सुरुवाती दुबै खेलमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बन्नु भएको छ । त्यस्तै नेपालबाट टि २० आईमा लगातार दोस्रो अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान पनि बन्नु भएको छ ।