काठमाडौँ उपत्यकामा ३४८ जना सहित देशभर थप ९०० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ३ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३४८ जना सहित देशभर थप ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २८६, भक्तपुरमा १९ र ललितपुरमा ४३ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ५ हजार ५३७ आरटी पीसीआर तथा ६२१ एन्टीजेन परिक्षण सहित ६ हजार १५८ जनाको परिक्षण गर्दा ९०० जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ८९० रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ७७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २०८ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार ७० रहेको छ ।