एएफसी कप छनोटमा बेंगलरुविरुद्ध भिड्दै त्रिभुवन आर्मी क्लब
काठमाडौँ, १ वैशाख – एएफसी कपका लागि भइरहेको छनोटको दोस्रो चरणमा नेपालको त्रिभुवन आर्मी क्लबले आज भारतको बेंगलरु फुटबल क्लबविरुद्ध खेल्दै छ ।
बैंगलोरस्थित श्री कान्तिरवा रंगशालामा नेपाली समयअनुसार राती पौने ८ बजे सुरु हुने खेलको विजेता प्ले अफमा पुग्ने छ । यसअघि पहिलो चरणमा त्रिभुवन आर्मी क्लबले श्रीलंकाको श्रीलंकन पुलिस क्लबविरुद्ध ५-१ गोलको जित हात पारेको थियो ।
त्यस खेलमा नवयुग श्रेष्ठले दुई तथा सन्तोष तामाङ, टंक बस्नेत र सुदिल राईले एक एक गोल गरेका थिए। बेंगलरुले सोझै दोस्रो चरणमा प्रवेश पाएको थियो। त्रिभुवन आर्मी क्लब भरत खवास र बेंगलरु क्लब सुनिल क्षेत्रीको कप्तानीमा रहेको छ ।
सुनिल भारतीय राष्ट्रिय टोलीका कप्तानसेमत हुन् । यो खेलमा जित हात पार्ने टोलीले मालदिभ्सको इगल्स र बंगलादेशको अबहानी लिमिटेडबीच हुने खेलको विजेतासँग प्ले अफमा प्रतिस्पर्धा गर्ने छ । त्यस खेलमा जित हात पार्ने टोलीले एएफसी कपमा स्थान बनाउने छ।