भारतमा पहिलो पटक एकै दिनमा १ लाख २६ हजार ३१५ जनामा कोरोना सक्रमण
नयाँ दिल्ली, २६ चैत – भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, पहिलो पटक हिजो एकै दिनमा १ लाख २६ हजार ३१५ जनामा कोरोना सक्रमण देखिएको छ ।
यो संसारमै सबैभन्दा बढी हो । गत २४ घन्टामा ब्राजिलमा ९० हजार र अमेरिकामा ७५ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ। यसमध्ये सक्रिय संक्रमितको संख्या ९ लाख १० हजार २६२ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घन्टामा भारतमा ६८४ जनाले ज्यान गुमाएका छन ्। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ८९२ पुगेको छ।
भारतमा सबैभन्दा बढी महाराष्ट्रमा ५९ हजार ९०७ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितहरूमध्ये ३२२ जनाको मृत्यु भएको छ। जसमा महाराष्ट्रसँगै पञ्जाब, दिल्ली, गुजरात, कर्नाटक, तमिलनाडु, केरल, छत्तिसगढ, मध्यप्रदेश र उत्तर प्रदेश रहेका छन्।
कोरोनाको दोस्रो लहर तिव्र बनेपछि पञ्जाबमा रात्रिकालीन कर्फ्यू लगाइएको छ। राति ९ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेक घरबाहिर निस्कन रोक लगाइएको छ। सबै सभा, समारोह, राजनीतिक कार्यक्रम गर्न बन्देज लगाइएको छ। त्यस्तै, ओडिसामा रेल बन्द गरिएको छ। निजी कार्यालयमा पनि १०० जनाभन्दा बढी कर्मचारी नबोलाउन निर्देशन दिइएको छ।
मध्यप्रदेश र छत्तिसगढमा दुई साताका लागि बस सेवा बन्द गरिएको छ। गुजरातका प्रमुख २० शहरमा रात्रिकालीन कर्फ्यू लगाइएको छ। नेपालसँग जोडिएका भारतीय राज्य उत्तरप्रदेशसँगै बिहार, उत्तराखण्ड र पश्चिम बंगालमा पनि कोरोनाको संक्रमण बढ्दै गएको छ।