नेपाल र किर्गिस्तानबीचको खेल गोलरहित बराबरी

काठमाडौँ, १२ चैत – त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल र किर्गिस्तानको ओलम्पिक टिम (यू-२३ ) बीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

आज दशरथ रंगशालामा भएको खेलमा नेपालले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल बराबरीमा रोकिएको हो ।
यो नतिजापछि बंगलादेश भने नेपालसँग लिग चरणको खेल खेल्नुअघि नै फाइनलमा पुगेको छ । बंगलादेशले ३ अंक जोडेको छ भने नेपाल र किर्गिस्तानको समान १ अंक छ ।
अब लिग चरणमा नेपाल र बंगलादेशबीचको खेल बाँकी छ । बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १-० ले पराजित गरेको थियो । नेपाल र बंगलादेशबीचको खेल शनिबार हुनेछ ।

६ वर्षपछि नेपाली राष्ट्रिय फुटबल टिमले दशरथ रंगशालामा फुटबल खेल्दा करिब ७ हजारको संख्यामा दर्शक खेल हेर्न उपस्थित थिए । घरेलु दर्शकको अगाडि घरेलु मैदानमा खेलिरहेको नेपालले पहिलो हाफमा गोलका केही अवसर पाए पनि गोल गर्न सकेन ।

खेलको १० औं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा अनन्त तामाङले हेड गरेको बल पोष्ट नजिकैबाट बाहिरियो ।

१४ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी एरियाभित्रबाट प्रहार गरेको बल किर्गिस्तानको गोलकिपर बिट भइसकेको अवस्थामा पोष्टमा लागेर फर्कियो ।

२९ औं मिनेटमा सन्जोग राईको पासमा अभिषेक रिजालको प्रहार पनि पोष्ट बाहिर गयो । ३३ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी एरियाको लाइनबाट प्रहार गरेको बल पोष्ट नजिकैबाट बाहिरियो । पहिलो हाफमा किर्गिस्तानले पनि गोलको अवसर सिर्जना गर्न सकेन ।

दोस्रो हाफको सुरुवातदेखि नै खेलको गति केही बढेको थियो ।

५३ औं मिनेटमा किर्गिस्तानका बोरुबाएभ गुलझिगिटले प्रहार गरेको फ्रिकिक पोष्टको केही माथिबाट बाहिरियो । लगत्तै गुलझिगिटले प्रहार गरेको फ्रिकिक नेपालका गोलकिपर किरण चेम्जोङले बचाए ।

६२ औं मिनेटमा रन्जित धिमालको पासमा रोहित चन्दको हेडरले पोष्टको दिशा लिन सकेन । यस्तै ६३ औं मिनेटमा रन्जितकै फ्रिकिकमा अञ्जन विष्टको हेडर पोष्ट नजिकबाट बाहिरियो ।

६७ औं मिनेटमा किर्गिस्तानका कप्तान तासिएभ कामोलिदिन दोहारो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि किर्गिस्तान १० खेलाडीमा समेटिएको थियो ।

किर्गिस्तान एक खेलाडी कम हुँदा नेपालले खेलमा दबाब बनाए पनि गोलका लागि संघर्ष गरिरह्यो । नेपालले किर्गिस्तानको पोष्टमा बल पुर्‍याए पनि फिनिसिङमा सफल हुन सकेन ।

किर्गिस्तानका गोलकिपर प्रिएदकिन अर्तेमले केही राम्रा बचाउ गरे । त्रिदेव गुरुङ, सन्जोग राई र निशान खड्काले पहिलो पटक सिनियर टिमबाट खेले तर किर्गिस्तानको ओलम्पिक टिम भएकाले यसलाई आधिकारिक रुपमा अन्तर्राष्ट्रिय खेलमा डेब्यु मानिने छैन ।

मिडफिल्डरद्वय त्रिदेव र सन्जोगले पहिलो रौजाईमै खेलेका थिए । निशानले भने ८६ औं मिनेटमा रन्जित धिमालको स्थानमा मैदान प्रवेश गर्दै नेपालका लागि पहिलो खेल खेले ।

दोस्रो हाफमा प्रशिक्षक बालगोपाल महर्जनले फरवार्ड लाइन परिवर्तन गरे पनि गोल भएन ।

Facebook Comments Box