भीडभाड हुने कार्यक्रम नगर्न प्रशासन अनुरोध

भरतपुर, १० चैत – नेपालमा कोरोना भाइरसको जोखिम बढेको भन्दै चितवनमा पनि उच्च सतर्कता अपनाउन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र चितवनले आग्रह गरेको छ । केन्द्रका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले विज्ञप्ति जारी गर्दै जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।

छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढ्दै जाँदा जिल्लामा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरिएको छ । जिल्लामा सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठीजस्ता कार्यक्रम नगर्न भनिएको छ । यस्तै प्रशासनले भौतिक दूरी कायम गर्न तथा मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न पनि आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले यस वर्षको होलीपर्व घरमै बसेर मनाउन आग्रह गरेको छ ।

Facebook Comments Box