प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा उठायो यी तीन विषय

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजनीतिक दलसम्बन्धी नयाँ दफाअनुसार आफूहरु नै नेकपाको आधिकारिक पार्टी भएको निर्वाचन आयोगमा दाबी गरेको छ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहितको टोली मंगलबार निर्वाचन आयोग पुगेर नेकपाकाे नाम, झण्डा र चुनाव चिन्हमाथि आधिकारिकताको दावी गरेका हुन्।

सो समूहले दल विभाजन भएको र सोको निरुपणका लागि राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार आधिकारिकता दावी गरेको बताएका छन्।

सो समूहले सोमबार आकस्मिक रुपमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा उपस्थित रहेका २ सय ७५ जना नेताहरुको उपस्थितिकाे विवरण पनि निर्वाचन आयोगमा बुझाएको छ।

अध्यक्ष द्वयसहितको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गर्दै नेकपाभित्रको विवाद निरुपण गरेर मात्रै निर्वाचनका कार्यक्रम अघि बढाउन आग्रह गरेको छ।

सो छलफलमा नेकपाका अध्यक्षद्वय र वरिष्ठ नेता खनालसहित अन्य नेताहरु भीम रावल, घनश्याम भुसाल, वर्षमान पुन, पम्फा भुसाल, बेदुराम भुसाल, लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायत सहभागी थिए।

नेकपाले निर्वाचन आयोगमा मुख्य गरेर तीन वटा विषय उठाएको स्थायी समिति सदस्य राजेन्द्र पाण्डेले बताए। पाण्डेले निर्वाचन आयोगले नेकपाको पुस ७र ९ को निर्णयलाई मान्यता नदिएको, अध्यक्ष ओली र महासचिवलाई गरिएको कारबाहीलाई मान्यता नदिएको र दुई एकता गर्दाका बेला ओलीलाई पहिलो र प्रचण्डलाई दोस्रो अध्यक्ष नभनिएको कुरालाई मुख्यगरी उठाएको छ।

नेकपाले आयोगमा उठाएका तीन विषय नेता पाण्डेकै शब्दमा:
१. आयोगको माघ १२ गतेको निर्णयले ४ सय ४१ जनाकाे केन्द्रीय कमिटीलाई मान्यता दिएको छ। आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही संख्याको बहुमतले पुस ७ र ९ गते गरेको निर्णयलाई मान्यता दिन्छ भन्ने लागेको थियो। तर, त्यस्तो हुन सकेन। त्यसलाई अध्यावधिक गरिएन। त्यसपछि विधानमा रहेको व्यवस्थाअनुसार २५ प्रतिशत केन्द्रीय सदस्यले आकस्मिक बैठककाे माग गर्नुभयो। त्यो बैठक सोमबार सम्पन्न भएको छ। त्यो बैठकमा २ सय ७५ जना उपस्थित भएर निर्णय गरेका छौँ।

२. बाहिर दावी गर्ने समय सकियो भन्ने मानिसले प्रचार गरेको देखिन्छ। हामीले यसअघि नै चार पटक दावी गरेको छौँ। हाम्रो बैठकले दुई वटा काम गरेको छ। पहिले केपी शर्मा ओलीलाई अध्यक्षबाट र पछि पार्टीको सदस्यबाट हटाएको छ। त्यसैगरी महासचिव विष्णु पौडेललाई पनि जिम्मेवारीबाट हटाएका छौँ। यो दल फुटेको होइन, कारबाही गरेको हो। आयोगले अध्यावधिक गर्नुको साटो केन्द्रीय कमिटीको निर्णय अरु मान्दैनौँ भन्यो। यसमा हाम्रो विमति छ। राजनीतिक दलसम्बन्धी ऐनकाे दफा ४३ र ४४ अनुसार दलको आधिकारिकता दावी गर्न आएका हौँ।

३. नेकपामा अध्यक्षहरु नाम लेख्दा वर्णानुक्रममा लेखिएको हो। २०७५ जेठ ३ गते एकीकरण हुदा पार्टी निर्वाचन आयोगमा दर्ता गरेको विधानमा पनि दुवै अध्यक्ष रहने भनिएको छ। त्यहाँ पहिलो र दोस्रो भनिएको छैन। बैठकको अध्यक्षता पनि आलोपालो गर्ने भनिएको छ। एउटा बैठकबाट अर्को बैठक नहुँदासम्म जसले बैठकको अध्यक्षता गर्छ त्यो नै पहिलो अध्यक्ष हुन्छ। धेरै बैठकहरु प्रचण्डको अध्यक्षतामा भएका छन्। केपी शर्मा ओली पहिलो नम्बरको अध्यक्ष हुन् भन्ने कुरा भ्रम मात्रै हो। ओली पहिलो र प्रचण्ड दुई नम्बर अध्यक्ष हुने भनेको छैन। यो आलोपालो महाधिवेशनपछि अन्त्य हुनेछ भनिएको छ।

Facebook Comments Box