काठमाडौं उपत्यका कोरोना महामारीको ’रेडजोन’ भएकाले पुनः ठप्प हुन सक्ने संकेत
काठमाडौं, ३१ साउन – काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं उपत्यका कोरोना महामारीको ’रेडजोन’मै रहेकाले गतिविधि पुनः ठप्प पार्ने संकेत गरेका छन। तर जनस्वास्थ्य विज्ञले कतिपय व्यक्तिले खोप लगाइसकेकाले जनजीवन पूरै ठप्प पार्न आवश्यक नभएको सुझाव दिएका छन्।
कोरोना संक्रमण बढ्दै गएकाले रातको समय यातायात बन्द गरेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी पराजुलीले संक्रमणको अवस्था विचार गरेर निषेधाज्ञा परिमार्जन हुने बताए। ‘पछिल्लो एक हप्तामा संक्रमण दर ह्वात्तै बढेको छ। मृत्युदर पनि बढ्न थालेको छ। अस्पतालमा बिरामीको चाप बढेको अवस्था छ। यसकारण कडाइ गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘काठमाडौं रेड जोनमै छ भन्ने स्वास्थ्यकर्मीहरूको रिपोर्ट आएको छ। जारी आदेश जुनसुकै बखत पुनरवलोकन गर्नसक्ने भनेका छौं।’
एकैचोटि पूर्ण निषेधाज्ञा जारी गर्नुभन्दा पनि रोकथामका उपाय अपनाउँदै गएको र आगामी दिनमा संक्रमण बढ्दै गए लकडाउनको विकल्प नहुने उनको भनाइ छ। ‘हाम्रो मुख्य उद्देश्य भयावह नहोस् भन्ने नै हो। हामीले केही क्षेत्रहरू खुलाएको अवस्था छ। संक्रमण दर पनि नबढोस् र दैनिक जीवनका कुराहरू पनि चालु हुन् भन्ने हाम्रो अहिलेको नीति हो,’ उनले थपे, ‘यदि संक्रमण बढ्दै गयो भने त्यहीअनुसार निर्णयहरू गर्दै जानुपर्ने हुन्छ।’
यसअघि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा भदौ ८ गतेसम्म लम्ब्याउने निर्णय गरिसकेको छ। बिहीबारदेखि थप निषेधाज्ञा अन्तर्गत राति ८ बजेपछि अत्यावश्यकबाहेकका सवारीसाधन चलाउन नदिने नियम राखिएको छ। शनिबार मात्रै २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४ सय ५ पुगेको छ। जसमध्ये सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामै छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ८ हजार ५७९, ललितपुरमा १ हजार ३१९ र भक्तपुरमा १ हजार ९१८ संक्रिय संक्रमित छन्। जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले सतर्क रहनुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने भए पनि लकडाउनका नाममा नागरिकलाई तर्साउन नहुने बताए। खोप लगाइसकेका व्यक्ति पनि भएकाले जनजीवन ठप्प पार्न आवश्यक नभएको उनको तर्क छ।
‘सर्तक रहन जरुरी छ। मास्क लगाऊँ, खोप लगाऊँ, तर अब सबैथोक बन्दाबन्दी गर्नुपर्ने अवस्था गयो,’ उनले भने, ‘अब समाजमा खोप लगाएका व्यक्तिहरू पनि छन् नि! पहिलेजस्तै लकडाउन गर्ने हो भने किन खोप लगाउनु? खोप लगाउनु भनेकै सुरक्षा प्रदान गर्नु हो। अब पहिलेजस्तो मान्छेलाई तर्साउने काम नगरौं। लकडाउन गर्दै बस्ने समय अबचाहिँ होइन।’ पहिलो र दोस्रो लहरबाट कारोनाले ९८ प्रतिशतभन्दा बढी मानिसलाई खासै असर नगर्ने पुष्टि भइसकेको र धेरै जनाले खोप पनि लगाइसकेकाले सबै क्षेत्र ठप्प पारेर नागरिकलाई सास्ती नदिन उनको भनाइ छ। तर जनस्वास्थ्यका मापदण्ड पालनामा लापरबाही गर्न नहुनेमा उनको जोड छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले साउन लागेपछि दैनिक १० हजार हाराहारीमा कोरोना परीक्षण भइरहँदा काठमाडौं उपत्यकालगायत ठूला सहरमा संक्रमण दर पनि उच्च देखिएको बताए। उनका अनुसार दैनिक परीक्षणमा २० देखि २५ प्रतिशतसम्म संक्रमण पुष्टि भइरहेको छ। ‘२५ प्रतिशतमा संक्रमण पुष्टि हुनु भनेको हाई पोजिटिभिटी रेट हो। ४ जनामा एक जना पोजिटिभ भेटिएको अवस्था हो,’ डा. पौडेलले भने, ‘निषेधाज्ञा खुकुलो भइरहेको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गरिएन भने संक्रमण झनै बढ्ने देखिन्छ। त्यसकारण हामी सतर्क हुन आवश्यक छ।’

