सरकारले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने

काठमाडौँ, १२ साउन – सरकारले मंगलबार गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने भएको छ । नेपाली कांग्रेस स्रोतका अनुसार गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वी मान सिंह गुरुङलाई सिफारिस गर्ने तयारी छ ।

त्यस्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गर्ने तयारी भएको स्रोतको दावी छ । दुवै प्रदेश प्रमुखको नाम सिफारिसका लागि मंगलबार अपरान्ह मन्त्रिपरिषदको बैठक बसेको छ । प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

यसअघि लुम्बिनीमा कांग्रेसबाट नियुक्त उमाकान्त झालाई हटाएर धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाइएको थियो। अहिले बागमती प्रदेश प्रमुखमा विष्णु प्रसाद प्रसाई, सुदुरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादव, गण्डकी प्रदेश प्रमुखमा सीताकुमारी पौडेल, लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादव, प्रदेश १ प्रमुखमा सोमनाथ अधिकारी, प्रदेश २ प्रमुखमा डा. राजेश झा र कर्णाली प्रदेश प्रमुखमा गोविन्द प्रसाद कलौनी छन्।

Facebook Comments Box