एमाले विवाद समाधान कार्यदलको बैठक सुरु
काठमाडौँ, २६ असार – नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ । शनिबार दिउँसो साढे २ बजे बस्ने तय गरिएको बैठक अपराह्न करिब ४ बजेर ५० मिनेटमा मात्र सुरु भएको हो । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक जारी छ ।
माधवकुमार नेपालपक्षीय नेताहरु कोटेश्वरबाट फर्किएपछि बैठक सुरु भएको हो । यसअघि, कार्यदलमा नेपाल पक्षबाट संयोजकसमेत रहेका भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायत नेताहरु नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । बैठकस्थलमा उपस्थित भएर पनि उनीहरु बैठक नबसी त्यतातिर लागेका थिए ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरु भने बैठकस्थलमै बसेका थिए । यसअघि, आजै कार्यदलमा ओली पक्षबाट संयोजकसमेत रहेका नेता सुवास नेम्वाङ र सदस्य विष्णु पौडेल तथा संयोजक रावलबीच सिंहदरबारमै केही बेर छलफल भएको थियो । नेताहरुले आज दुई पक्षबीच सहमति हुने बताउँदै आएका छन् ।

