माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन गर्ने
काठमाडौँ, २१ असार – राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन गर्ने भएको छ। कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। उनका अनुसार आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ। प्रणालीको मागअनुसार विजुली उत्पादन हुने प्रवक्ता न्यौपानेले जानकारी दिनुभएको छ ।
आयोजनाले आइतबार विद्युतगृह रहेको गोगरदेखि खिम्तीसम्मको कुल ४७ दशमलब २ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ। आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो।
हिजोसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको थियो भने अब आजदेखि ती उपकरणलाई लोडमा चलाइने छ।
उद्घाटनको आवश्यक तयारी पूरा भएको जानकारी दिँदै प्रवक्ता न्यौपानेले नेपाली जनताले विगत १० वर्षदेखि देखेको सपना पूरा भएको प्रतिक्रिया दिनुभएको छ । स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना सम्पन्न भएको हो। यस्तै, असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी गरिएको छ।

