भारतको उत्तराखण्डमा जिप दुर्घटना ७ जना नेपालीको मृत्यु, २ जना घाइते

कञ्चनपुर, २७ चैत – भारतको उत्तराखण्डस्थित उचाकोटमा ११ जना नेपाली कामदार खानेपानी योजनामा पाइप बिछ्याउने काम गर्थे। करिब २ महिनाअघि उनीहरू बर्दियाबाट उचाकोट पुगेका थिए।

सोमबार बिहान उनीहरूले खानेपानी योजनाको काम सके। त्यसपछि घर फिर्ता हुन झोलीझिम्टी तयार गरेर गाडी रिजर्भ गरे। ती ९ जना नेपाली सोमबार बेलुका यूके ०४ सीसी ०४९५ नम्बरको गाडीमा चढे।

जिप अघि बढेर ५ मिटर पार नगर्दै दुर्घटनामा पर्‍यो। तर त्यस जिपमा सँगै काम गर्ने दुईजना चढेका थिएनन्। जिपमा चढ्न नपाउँदै दुर्घटनामा परेपछि उनीहरू भाग्यले जोगिएका छन्। ९ जना नेपाली सवार जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

‘कम्बल लगायत सामानले जिप खचाखच थियो। भिरालोमा रहेको जिप ५ मिटर तल पुग्दा दुर्घटनामा पर्‍यो,’ बेतालघाट प्रहरी चौकीका प्रमुख अनिश अहमदले भने, ‘दुई जनाले जिप चढेका रहेनछन्, त्यहीकारण उनीहरू जोगिए।।’

दुर्घटनाको यकिन कारण खुलेको छैन। भिरालोमा रहेको जिप अनियन्त्रित भएर खोंचमा खसेको हुनसक्ने अनुमान छ। नैनितालको उचाकोटीमा जिप दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा बर्दियाका विश्राम चौधरी, अन्तराम चौधरी, गोपाल बस्नेत, उदय चौधरी, विनोद चौधरी, तिलक चौधरी र धिरज चौधरी छन्। यस्तै, जिप चालक नैनीताल बेतालघाटका राजेन्द्र कुमार (राजु) को पनि दुर्घटनामा परेर मृत्यु भएको छ। दुर्घटनमा अन्य दुई जना नेपाली घाइते भएका छन्। घाइतेद्वय शान्ति चौधरी र छोटुको हल्द्वानीमा उपचार भइरहेको छ।

Facebook Comments Box