काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउँदै असार मसान्तसम्म थप, सबै सार्वजनिक सवारीसाधन खुल्ला

काठमाडौँ, २० असार – कोरोना महामारीको जोखिम नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको २ महिनापछि काठमाडौं उपत्यकामा निजी तथा सबै खालका सवारीसाधन चलाउन दिइने भएको छ । सँगै थप खुकुलो बनाउँदै असार मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओको संयुक्त बैठकले हाल कायम रहेको जोरबिजोर प्रणालीलाई खारेज गरेको छ । त्यस्तै यसअघि २५ सिट क्षमताका सवारीसाधन मात्र अनुमति दिइएकोमा त्यसलाई हटाइएको छ । अब माइक्रो, टेम्पोसमेत चल्न पाउनेछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले जारी गरेको आदेशमा मापदण्ड पालना गरेर साना तथा ठूला सबै सार्वजनिक सवारी सन्चालनको अनुमति दिइएको उल्लेख छ ।

रेष्टुरेन्ट र शैक्षिक संस्था भने तत्काल नखुल्ने भएको छ । तर, पूर्वनिर्धारित परीक्षा भने स्वास्थ्य मापदण्ड पूर्णपालना गरी संचालन गर्न पाइनेछ । त्यस्तै होटल, रेष्टुरेन्टमा अनलाइन अर्डर, टेक-वे वा होम डेलिभरीको लागि साँझ ७ बजेसम्म मात्र संचालन गर्न पाइने काठमाडौं प्रशासनको आदेशमा उल्लेख छ ।

Facebook Comments Box