विदेशी नागरिकले स्थल मार्गबाट नेपाल प्रवेश गर्न नपाउने
काठमाडौँ, १५ असार – विदेशी नागरिकले स्थल मार्गबाट नेपाल प्रवेश गर्न नपाउने भएका छन् । सरकारले हालै सार्वजनिक गरेको विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ ले यस्तो व्यवस्था गरेको हो ।
कोभिड-१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारमा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली तथा विदेशी नागरिकको आवागमनलाई व्यवस्थित गर्न यस्तो आदेश जारी गरिएको हो । आदेशको व्यवस्थाअनुसार विदेशी नागरिकले नेपालले निर्धारण गरेका सर्तहरूको पालना गरी हवाई मार्गबाट मात्र प्रवेश गर्न पाउनेछन् ।
नेपाली नागरिक भने दक्षिणतर्फका १३ वटा नाकाबाट नेपाल प्रवेश गर्न सक्नेछन् । उत्तरतर्फको नाका भने आदेशमा समावेश गरिएको छैन ।
विदेशबाट नेपाल आउँदा हवाई यात्रुहरूले अध्यागमनमा दर्ता गर्नुपूर्व ७२ अघिल्लो १२ घण्टाभित्रको फोटो एवं बारकोडसहितको कोभिड-१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण पेस गर्नुपर्नेछ ।
त्यस्तै सीसीएमसीको वेबसाइटमा रहेको आगमन फाराम भरेको यकिन गरेपछि मात्र यात्रुहरूको दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ ।
खोपको मात्रा पूरा गरेको प्रमाणपत्र भएका र कोभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ भएका हवाई मार्गबाट आउने यात्रु १० दिन स्व-क्वारेन्टाइनमा बस्ने गरी गन्तव्य स्थलसम्म जान दिन सकिने व्यवस्था पनि गरिएको छ । निजले भरेको फाराम सम्बन्धित डीसीएमसी र स्थानीय तहमा भने अनिवार्य पठाउनुपर्नेछ ।

