डेढ दशकपछि राहुघाट जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु

म्याग्दी । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले निर्माण सुरु भएको करिब डेढ दशकपछि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको परीक्षण अवधि पूरा भएपछि व्यावसायिक उत्पादन सुरु गरिएको हो।

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार प्राकृतिक विपत्ति, कोरोना महामारी, ठेकेदारको कमजोरी, भन्सार प्रक्रियामा भएको ढिलाइ तथा निर्माण सामग्रीको अभावलगायत कारणले आयोजना सम्पन्न हुन लामो समय लागेको हो। रघुगङ्गा गाउँपालिकामा निर्माण भएको आयोजनाको बाँध वडा नम्बर ४ दग्नाम र वडा नम्बर ५ झिँको फेदीमा रहेको छ। त्यहाँबाट ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङमार्फत पानी तिल्केनीचौरस्थित विद्युत्गृहमा पुर्‍याइएको छ।

आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। उत्पादित विद्युत् २२० केभी क्षमताको दाना–कुश्मा प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। राहुघाट आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले २०६७ सालमा भारतीय कम्पनी आइभीआरसीएलसँग दुई अर्ब ५० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

तर, कम्पनीले काम गर्न नसकेपछि २०७२ सालमा ठेक्का रद्द गरिएको थियो। त्यसबेला आयोजनाको भौतिक प्रगति १२ प्रतिशतमा सीमित थियो। त्यसपछि आयोजना पुनर्संरचना गरी क्षमता ३२ मेगावाटबाट बढाएर ४० मेगावाट कायम गरिएको थियो। २०७३ सालमा रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना गरी नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो।

भारतीय कम्पनी जयप्रकाश एसोसिएट्ससँग २०७४ सालमा करिब ६ अर्ब रुपैयाँमा निर्माण सम्झौता गरिएको थियो भने इलेक्ट्रोमेकानिकलतर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेडले काम गरेको थियो। म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले राहुघाट जलविद्युत् आयोजनालाई जिल्लाको जलविद्युत् विकासको प्रवेशबिन्दुका रूपमा लिइएको बताउनुभयो।

उहाँका अनुसार राहुघाट आयोजना सुरु भएपछि म्याग्दीमा भित्रिएका अन्य १० वटा जलविद्युत् आयोजना सम्पन्न भइसकेका छन्। डेढ दशकको प्रतीक्षापछि राहुघाटले व्यावसायिक उत्पादन सुरु गरेकामा जिल्लावासी उत्साहित भएका छन्।

Facebook Comments Box