बझाङका गाउँगाउँमा बढ्दै क्रिकेटको आकर्षण
बझाङ । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रभावसँगै बझाङका गाउँगाउँमा क्रिकेटको आकर्षण बढ्दै गएको छ। दसैँ, तिहार र छठ पर्वको अवसर पारेर जिल्लाका विभिन्न स्थानमा क्रिकेट प्रतियोगिता आयोजना हुन थालेका छन्। खेलमैदान र पूर्वाधारको अभाव भए पनि युवाहरू खेतबारी, खुला चौर र खाली ठाउँलाई मैदान बनाएर प्रतियोगितामा सहभागी भइरहेका छन्।
यस वर्ष खप्तडछान्ना गाउँपालिकाको बाँस्काटियामा पहिलोपटक आयोजित प्रतियोगितामा १८ टोली सहभागी भएका थिए। त्यस्तै, माझिगाउँमा आयोजित अर्को प्रतियोगितामा दुई दर्जनभन्दा बढी टोलीले प्रतिस्पर्धा गरेका थिए। नेपाल क्रिकेट संघ बझाङका अनुसार पछिल्लो समय जिल्लाका दर्जनभन्दा बढी स्थानमा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेका छन्।
एनपीएलपछि ग्रामीण क्षेत्रका युवामा क्रिकेटप्रतिको रुचि थप बढेको स्थानीय खेलाडी र आयोजकको भनाइ छ। तर, व्यवस्थित खेलमैदान र आवश्यक पूर्वाधारको अभाव भने चुनौतीका रूपमा रहेको छ। खेतबारीमै अभ्यास र प्रतियोगिता गर्दै आएका बझाङका युवाले क्रिकेटमार्फत आफ्नो प्रतिभा देखाउने अवसर पाउन थालेका छन्।

