सिरहाका विभिन्न सीमा क्षेत्रबाट ४२ लाखभन्दा बढीका अवैध सामान बरामद
सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाका विभिन्न सीमा क्षेत्रबाट ४२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाका अनुसार मङ्सिर १ गते जिल्लाका विभिन्न सीमा नाकाबाट अवैध रूपमा ओसारपसार भइरहेका सामान बरामद गरिएको हो ।
बरामद सामानमा लत्ताकपडा, मोटरसाइकल, किराना सामग्री, सुर्ती, कस्मेटिक सामान, खेलौना, हार्डवेयरका सामग्री, पेय पदार्थ, मदिरा, जुत्ता, चस्मा, मोटरपार्ट्स, प्लास्टिकका कुर्सी, कार्पेट, स्याउ र औषधिलगायत रहेका छन् । नेपालबाट भारततर्फ लैजाँदै गरेका तथा भारतबाट नेपालतर्फ ल्याउँदै गरेका ती सामानको कुल मूल्य ४२ लाख ५३ हजार ५९३ रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सीमा क्षेत्रमा दिनरात गस्ती परिचालन गरिएपछि अवैध रूपमा सामान ओसारपसार गर्ने गतिविधि नियन्त्रणमा सहयोग पुगेको सशस्त्र प्रहरीको भनाइ छ । बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गणका गणपति प्रहरी उपरीक्षक सुमनजङ्ग थापाले जानकारी दिनुभएको छ ।

