आमायाङ्ग्रीमा आध्यात्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बुस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । प्रकृति, अध्यात्म, योग, ध्यान, स्वास्थ्य र नेपाली मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा ४१ जनाको सहभागिता रहेको थियो ।
न्यू भिजन नेपालको आयोजना, काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागको सहयोग र हिमालयन वेलनेस फाउन्डेसनको सहकार्यमा सम्पन्न कार्यक्रममा योग अभ्यास, ध्यान, साउन्ड हिलिङ तथा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । योगी अशोक शर्मा भट्टले योग, ध्यान तथा साउन्ड हिलिङ सत्र सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा मञ्जुश्री, कुमारी तथा नेवारी सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
आमायाङ्ग्रीको प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र आध्यात्मिक वातावरणमा आयोजित कार्यक्रमले सहभागीलाई योग, ध्यान र आत्मचिन्तनसँगै नेपाली मौलिक कला तथा संस्कृतिसँग जोड्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ । कार्यक्रमले नेपालको धार्मिक सम्पदा, प्राकृतिक सौन्दर्य र मौलिक संस्कृतिलाई जोडेर आध्यात्मिक तथा आरोग्य पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

