माइक्रोबस दुर्घटनामा १४ जनाको मृत्यु भएपछि चक्रघट्टा गाउँपालिकामा शोक बिदा

सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिकाले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा स्थानीय नागरिकको मृत्यु भएपछि आज शुक्रबार शोक बिदा दिएको छ। गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवद्वारा जारी सूचनाअनुसार गाउँपालिकाभित्रका सरकारी तथा गैरसरकारी कार्यालय र सामुदायिक तथा संस्थागत विद्यालयमा एक दिनका लागि शोक बिदा दिइएको हो।

शोक बिदाका दिन गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा नियमित सेवा प्रवाह गर्ने अन्य कार्यालय बन्द रहनेछन्। तर स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा भने सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका एक गर्भवती महिलासहित १४ जनाको मृत्यु भएको थियो। छठ पर्व मनाउन घर फर्किंदै गरेका स्थानीयको दुर्घटनामा मृत्यु भएपछि सुन्दरपुर गाउँ शोकमा डुबेको छ।

Facebook Comments Box