अमेरिकी राजधानी वासिङ्टन डिसीमा गोली चल्दा दुई जनाको मृत्यु, चार घाइते
काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा बिहीबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा गोली चलाउने व्यक्ति पनि रहेको वासिङ्टन डिसी प्रहरीले जनाएको छ। घटनालगत्तै आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले आक्रमणकारीले आफैँलाई गोली हानेको हुन सक्ने बताएका छन्।
वासिङ्टन डिसीका अन्तरिम प्रहरी प्रमुख जेफ्री डब्लु क्यारोलका अनुसार घटनाको सूचना पाएलगत्तै प्रहरी ३० सेकेन्डभित्र घटनास्थल पुगेको थियो। ह्वाइट हाउसबाट करिब एक दशमलव ६ किलोमिटर टाढा स्थानीय समयअनुसार बिहीबार बिहान करिब ८ बजे गोली चलेको हो।
अमेरिकी समाचार संस्था एपीका अनुसार आक्रमणकारीले सुरुमा फिटनेस सेन्टरभित्र एक व्यक्तिमाथि गोली चलाएका थिए। त्यसपछि बाहिर निस्किएर पार्किङ ग्यारेजमा समेत गोली चलाउँदा अर्का एक व्यक्ति घाइते भएका थिए। गोली चलेपछि उक्त क्षेत्रमा भागदौड मच्चिएको थियो। मानिसहरू ज्यान जोगाउन नजिकैका पसल तथा घरमा लुकेका थिए। प्रहरीले तत्काल क्षेत्रलाई घेराबन्दी गरी सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको थियो।
घाइते चारै जनालाई उपचारका लागि अस्पताल लगिएको छ। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गोली चलाउने व्यक्ति गोरा पुरुष हुन्। अपार्टमेन्ट भवनको घरधनी सङ्घसँगको विवाद घटनाको कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, गोली चलाउनुको वास्तविक कारण भने खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

