आजदेखि चारदिने छठ पर्व सुरु, मिथिलाका गाउँबस्ती छठमय
काठमाडौं । दीपावली पर्व सकिएसँगै आजदेखि चारदिने छठ पर्व सुरु भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुले ‘नहाय–खाय’ विधि गर्दैछन्। छठ पर्वको दोस्रो दिन भोलि ‘खरना’ गरिन्छ। तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ भने चौथो तथा अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ।
सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वमा जातीय तथा सामुदायिक विभेद बिर्सेर सबै समुदायका मानिस एकै ठाउँमा भेला भई पूजा आराधना गर्ने परम्परा छ। छठ पर्वले आपसी सद्भाव, एकता र सामाजिक सहकार्यको सन्देश दिने विश्वास गरिन्छ। छठ पर्वको अवसरमा मिथिला क्षेत्रका गाउँबस्ती तथा बजारमा चहलपहल बढेको छ।
पर्वको तयारीस्वरूप घरघरमा छठका भक्तिगीत गुञ्जिन थालेका छन् भने नदी, पोखरी तथा जलाशयका किनारमा छठघाट निर्माण र सरसफाइको काम भइरहेको छ। स्थानीयवासी छठघाट सजावट, घरको लिपपोत तथा रङरोगन र सार्वजनिक स्थलमा बत्ती जडान गर्न व्यस्त छन्। आस्था, निष्ठा र भक्तिको पर्वका रूपमा मनाइने छठलाई धनी–गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धापूर्वक मनाउने तयारी गरेका छन्।

