एनभिडियाका प्रमुख जेन्सेन हुआङले दिए राजीनामा, कम्पनीको ५५० अर्ब डलर बजार मूल्य घटेको दाबी
न्युयोर्क । विश्वकै अग्रणी एआई चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले पदबाट राजीनामा दिएको समाचार सार्वजनिक भएको छ। विवाहेत्तर सम्बन्धको आरोप र चिनियाँ जासुससँग सम्बन्ध रहेको आशंकासँगै उनको राजीनामाले अमेरिकी प्रविधि क्षेत्रदेखि राजनीतिक वृत्तसम्म हलचल पैदा गरेको समाचारमा उल्लेख छ।
चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको आशंका गरिएकी एलिस हुआङसँग जेन्सेनको सम्बन्ध रहेको खबर सार्वजनिक भएपछि अमेरिकी सांसदहरूले उनीमाथि छानबिन र संसदीय सोधपुछको माग गरेका छन्। यसै प्रकरणका कारण एनभिडियाले पाँच दिनमै ५५० अर्ब अमेरिकी डलर बराबरको बजार पुँजीकरण गुमाएको दाबी गरिएको छ।
सन् १९९३ देखि कम्पनीको नेतृत्व गर्दै आएका हुआङले आफूले श्रीमतीप्रति विश्वासघात गरेको स्वीकार गरेको समाचारमा उल्लेख छ। यसैबीच, एनभिडियाकै अर्की उच्च अधिकारी किम्बर्ली पावेलसँग पनि उनको सम्बन्ध रहेको विवरण सार्वजनिक भएको छ।
सिंगापुरस्थित मेगास्पिड कम्पनीकी कार्यकारी एलिस हुआङ चीनका लागि जासुसीमा संलग्न रहेको आशंका गरिएको छ। यद्यपि चीनले उक्त आरोपलाई बदनाम गर्ने षड्यन्त्र भन्दै खण्डन गरेको छ। अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चले पनि यस विषयमा न्याय मन्त्रालय कुनै निष्कर्षमा नपुगेको स्पष्ट पारेका छन्।
यसैबीच, अमेरिकी सिनेटर एलिजाबेथ वारेन र क्रिस कुन्ससहितका सांसदहरूले हुआङलाई संसद्मा उपस्थित भएर स्पष्टीकरण दिन माग गरेका छन्। स्वेच्छाले उपस्थित नभए संसदीय आदेशमार्फत बोलाउन सकिने चेतावनीसमेत दिइएको छ। यता एनभिडियाले भने राष्ट्रिय सुरक्षा तथा कम्पनीका गोप्य सूचनामा कुनै सम्झौता नभएको दाबी गर्दै घटनाबारे स्वतन्त्र अनुसन्धान गर्ने जनाएको छ।
हुआङको बहिर्गमनपछि कम्पनीले नयाँ प्रमुख कार्यकारी अधिकृतको खोजी सुरु गरेको समाचारमा उल्लेख छ। हालका लागि प्रमुख वित्तीय अधिकृत कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।

