सवारी चापका कारण घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सवारीसाधनको उच्च चापका कारण दुईतर्फी यातायात सञ्चालन गर्न कठिन भएको छ । लगातारको सुक्खा पहिरोका कारण अवरुद्ध बनेको सडक पहिरो पन्छाएपछि मंगलबार दिउँसो १ बजेर ४० मिनेटदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल थापाका अनुसार चाडपर्वका कारण सवारीसाधनको चाप बढ्नु र पहिरो पन्छाउने मजदुर बिदामा जानुले सडक दुईतर्फी सञ्चालनमा ल्याउन समस्या भएको हो । उहाँका अनुसार पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएको छ । सामान्य पहिरो खसेमा तत्काल हटाएर यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

मौसमको अवस्था, सवारी चाप र अन्य परिस्थितिको मूल्याङ्कन गरेर मात्रै सडक दुईतर्फी सञ्चालनमा ल्याइने प्रहरीले जनाएको छ । काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधनका लागि महत्वपूर्ण मानिने यस सडकखण्डमा पटक–पटक पहिरो खस्दा यात्रुले सास्ती खेप्दै आएका छन् । सडक एकतर्फी सञ्चालनमा रहे पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

Facebook Comments Box