एनपीएलमा आज विराटनगर–पोखरा र कर्णाली–लुम्बिनीबीच प्रतिस्पर्धा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।
पाँच खेल खेलेको विराटनगरले दुई खेलमा जित र तीन खेलमा हार बेहोर्दै ४ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ। पोखराले भने पाँच खेलमध्ये एकमा मात्रै जित निकाल्दा चार खेलमा पराजय भोगेको छ। पोखरा अङ्क तालिकाको अन्तिम स्थानमा छ।
यस्तै, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। पाँच खेलबाट दुई जित र तीन हार बेहोरेको कर्णाली ४ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ। लुम्बिनी भने पाँच खेलमध्ये तीनमा जित, एकमा हार र एक खेल वर्षाका कारण रद्द भएपछि अङ्क बाँड्दै ७ अङ्कसहित तेस्रो स्थानमा रहेको छ।

