तिहारको चौथो दिन आज गाईपूजा गरिँदै
काठमाडौं । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ ।
गाईको दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि गाईको धार्मिक तथा सांस्कृतिक महत्त्व विशेष रहेको छ ।
धार्मिक मान्यताअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास छ । नेपालका केही स्थान र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गरिन्छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीमा विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने परम्परा पनि छ । पछिल्लो समय गाईको अभावमा संकल्प गरेर रकम राख्ने चलन बढेको धर्मशास्त्रका जानकार प्रा.डा. रामचन्द्र गौतमले बताएका छन् ।
गाईलाई राष्ट्रिय जनावरका रूपमा सम्मान गरिएको छ । धार्मिक विश्वासअनुसार साउन शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिए मृत्युपछि गाईले वैतरणी नदी पार गराएर स्वर्ग पुर्याउने मान्यता रहिआएको छ ।

