आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
काठमाडौँ । आज कात्तिक कृष्ण त्रयोदशीका दिन देशभर भगवान् धन्वन्तरीको पूजा आराधनासहित धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदैछ। आयुर्वेद चिकित्सापद्धतिका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको धार्मिक विश्वासका आधारमा प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ। वैदिक हिन्दु धर्मग्रन्थअनुसार समुद्र मन्थनका क्रममा कात्तिक कृष्ण त्रयोदशीका दिन भगवान् धन्वन्तरी अमृत कलशसहित प्रकट हुनुभएको मान्यता छ।
यस दिन आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीले शुभसङ्कल्पसहित विभिन्न कार्यक्रम आयोजना गर्ने परम्परा छ। नेपालमा आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीलाई आरोग्यता दिवसका रूपमा पनि मनाउन थालिएको हो। आज सिंहदरबार वैद्यखाना, नरदेवी आयुर्वेद अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस, दाङको नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको आयुर्वेद क्याम्पस तथा विभिन्न आयुर्वेद अस्पतालमा विशेष कार्यक्रम आयोजना हुँदैछन्।
यसैबीच, पछिल्लो समय नेपालमा आयुर्वेदिक औषधिको माग विगतको तुलनामा चार गुणासम्म बढेको सिंहदरबार वैद्यखाना विकास समितिले जनाएको छ। समितिका अनुसार आफूले उत्पादन गरेका आयुर्वेदिक औषधिको मागसमेत बढ्दै गएको छ।

