युक्रेनमा रुसी बम आक्रमण, ३३ जनाको मृत्यु, ५० बेपत्ता
जापोरिजिया । युक्रेनको दक्षिणपूर्वी जापोरिजिया क्षेत्रमा रहेको एक विद्यालय भवनमा रुसी बम आक्रमण हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार भएको उक्त आक्रमणलाई रुस–युक्रेन युद्धकै घातक घटनामध्ये एक बताउनुभएको छ। स्थानीय प्रशासनका अनुसार कोमिशुभाखा नगरस्थित उक्त भवनमा सर्वसाधारणले आश्रय लिइरहेका थिए। भवनलाई मानवीय सहायता वितरण केन्द्रका रूपमा समेत प्रयोग गरिँदै आएको थियो।
आक्रमणमा उद्धारका लागि खटिएका दुई उद्धारकर्मी र चार प्रहरी अधिकारीको समेत मृत्यु भएको छ। स्थानीय प्रशासनका अनुसार रुसले आक्रमणमा शक्तिशाली केएबी–५०० र एफएबी–३००० प्रकारका बम प्रयोग गरेको थियो। यसैबीच, रुसले युक्रेनका ऊर्जा पूर्वाधारलाई लक्षित गरी सयौँ ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताउनुभएको छ। उहाँले युक्रेनको हवाई सुरक्षा प्रणाली बलियो बनाउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्नुभएको छ।

