एनपीएलमा आज काठमाडौं–कर्णाली र सुदूरपश्चिम–चितवन भिड्दै
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।
यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्।
प्रतियोगितामा चितवन राइनोज हालसम्म अपराजित छ। पहिलो खेलमा जित निकालेको चितवनको दोस्रो खेल भने वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अङ्क बाँडेका थिए। सुदूरपश्चिमले तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ। यसैबीच, चितवन राइनोजले आजको खेल हेर्न काठमाडौं आउने आफ्ना समर्थकका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
खेलको टिकट लिएका समर्थकलाई चितवनदेखि काठमाडौं ल्याउने र खेलपछि पुनः चितवन फर्काउने व्यवस्था मिलाइएको क्लबले जनाएको छ। क्लबका अनुसार बस सेवा पहिलो आउनेलाई प्राथमिकता दिने आधारमा उपलब्ध गराइएको हो।

