बाराको फेटा झडपबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन
जनकपुरधाम । बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनका क्रममा भएको झडप र गोली प्रहारको घटनाबारे मधेस प्रदेश प्रहरीले छानबिन सुरु गरेको छ । घटनामा प्रहरीको भूमिकामाथि प्रश्न उठेपछि प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
समितिले गोली चल्नुको कारण, प्रहरीको भूमिका र झडपको अवस्थाबारे अध्ययन गर्नेछ । घटनास्थलको सुरक्षा कमान्ड सम्हालेका इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुमन लामालाई पनि जिम्मेवारीबाट हटाइएको छ । शनिबार फेटा गाउँपालिकामा सङ्घीय सरकारको अनुदानमा निर्माण भएको १५ शय्याको अस्पताल उद्घाटनका क्रममा झडप भएको थियो ।
झडपमा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका छन् भने प्रदर्शनकारीको ढुङ्गामुढाबाट पाँच जना प्रहरी घाइते भएका थिए । घटनाका क्रममा प्रदर्शनकारीले १० वटा मोटरसाइकलमा आगजनी गर्नुका साथै अस्पतालको शिलालेखसमेत तोडफोड गरेका थिए । घटनापछि सुरक्षा व्यवस्थापन र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको छ ।

