म्याग्दीको पाउद्धारमा पहिरोको भौगर्भिक अध्ययन, १५ घर उच्च जोखिममा
म्याग्दी । मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउद्धार गाउँमा पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले पाउद्धारसहित गाउँपालिकाका वडा नम्बर ५ र ६ का विभिन्न बस्तीमा रहेका पहिरोको अध्ययन गरेको हो ।
भूगर्भविद् लेखप्रसाद भट्टका अनुसार स्थलगत निरीक्षण, प्रभावित स्थानीयसँग छलफल, माटो तथा अन्य नमूना सङ्कलन र ड्रोनको सहायताबाट अध्ययन गरिएको छ । अध्ययनका क्रममा एक सय मिटरभन्दा बढी लम्बाइका करिब ३० वटा पहिरोको निरीक्षण गरिएको छ ।
प्रारम्भिक अध्ययनले पाउद्धार गाउँका १५ घर उच्च जोखिममा रहेको देखाएको छ । गाउँमाथिको पहिरो, जमिनमा देखिएका चिरा र ढल्किएका रुखका कारण थप जोखिम रहेको भूगर्भविद् भट्टले बताउनुभएको छ । बस्ती बसोबासका लागि सुरक्षित भए–नभएको विषयमा सुझावसहितको विस्तृत प्रतिवेदन गाउँपालिकालाई बुझाइने उहाँले जानकारी दिनुभयो ।
गत असोज ११ गते अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको थियो भने २८ घर पूर्ण रूपमा क्षति भएका थिए । दुई सयभन्दा बढी घर रहेको पाउद्धार गाउँ चारैतिरबाट पहिरोले घेरिएको छ । पहिरोका कारण पाउद्धार जोड्ने सडक अझै अवरुद्ध छ । स्थानीयवासीले श्रमदानबाट पैदलमार्ग खुलाउनुका साथै विद्युत् र खानेपानी सेवा सञ्चालनका लागि प्रयास गरिरहेका छन् ।
यसअघि हेलिकप्टरबाट उद्धार गरी घारस्थित आश्रयस्थलमा लगिएका ११५ जना स्थानीय अहिले आफन्तका घर तथा सुरक्षित स्थानमा बनाइएका अस्थायी टहरामा बस्न थालेका छन् । गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले भूगर्भविद्को अध्ययन प्रतिवेदन र सुझावका आधारमा प्रभावित बस्तीको पुनर्निर्माण प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।

