भोजपुरमा धान थन्क्याउन युवा जनशक्तिको अभाव
भोजपुर । गाउँबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन कामदार पाउन मुस्किल हुन थालेको छ। जनशक्ति अभावका कारण पाकेको धान समयमै भित्र्याउन समस्या भएको किसानले बताएका छन्। धान काट्ने, बिटा बाँध्ने, खेतबाट खलोमा पुर्याउने, झाँट्ने र घरसम्म भित्र्याउने काममा बढी शारीरिक श्रम आवश्यक पर्ने भएकाले युवा अभावले किसानलाई थप मर्का परेको छ।
टेम्केमैयुङ गाउँपालिका–६ का किसान बलबहादुर राईले पहिले गाउँघरमै पर्याप्त कामदार पाइने गरे पनि अहिले धान थन्क्याउने समयमा जनशक्ति खोज्न कठिन हुने गरेको बताउनुभयो। यस्तै, हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान जयबहादुर थापाका अनुसार गाउँमा युवा नहुँदा महिला र ज्येष्ठ नागरिककै भरमा खेतीपाती गर्नुपर्ने अवस्था छ। परिवारका सदस्यले बढी मेहनत गर्नुपर्दा काम सम्पन्न गर्न पनि लामो समय लाग्ने गरेको छ।
पहिले छिमेकी र आफन्त मिलेर पालैपालो खेतीपातीमा सघाउने चलन रहे पनि युवा जनशक्ति घट्दै जाँदा मेलापातबाट काम सम्पन्न गर्न कठिन हुन थालेको किसानको भनाइ छ। किसानले युवालाई गाउँमै रोक्ने कार्यक्रम सञ्चालन गर्न तथा आधुनिक कृषि प्रणाली अपनाउन स्थानीय सरकारसँग आग्रह गरेका छन्।

