झापामा सवारी दुर्घटना बढ्दो, असोजमा १३ जनाको मृत्यु
भद्रपुर । झापामा सवारी दुर्घटनाको सङ्ख्या बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार असोज महिनामा १५५ वटा सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने २४७ जना घाइते भएका छन्। प्रहरीको तथ्याङ्कअनुसार भदौमा ८८ वटा दुर्घटना हुँदा चार जनाको मृत्यु र १३५ जना घाइते भएका थिए। भदौको तुलनामा असोजमा दुर्घटना ६७ वटाले बढेको छ।
यसअघि साउनमा ३९ वटा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए। तथ्याङ्कले साउनदेखि असोजसम्म दुर्घटनाको सङ्ख्या निरन्तर बढेको देखाएको छ। प्रहरीका अनुसार चालकको लापरवाही दुर्घटनाको प्रमुख कारण देखिएको छ।
भदौमा भएका ८८ दुर्घटनामध्ये ७८ वटा चालकको लापरवाहीका कारण भएका थिए भने असोजमा पनि चालकको लापरवाहीका कारण ८७ वटा दुर्घटना भएका छन्। यसैबीच, असोज महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ६३ वटा सवारीसाधनलाई कारबाही गर्दा २० लाख ५१ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

