‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको सम्भावना
काठमाडौँ। बङ्गालको खाडीमा विकसित ‘अर्णव’ नामक चक्रवातको प्रभाव नेपालमा पनि पर्ने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि यसको प्रभाव नेपालमा देखिन थाल्ने र बिहीबारदेखि विभिन्न स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। भारतको मौसम विभागका अनुसार चक्रवात थप शक्तिशाली बन्दै आन्ध्र प्रदेश र ओडिसाको तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ। चक्रवातका कारण भारतका प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
मौसमविद्हरूका अनुसार चक्रवातबाट आउने जलवाष्प र अन्य मौसमी प्रणालीको प्रभावले नेपालमा वर्षा लम्बिन सक्नेछ। बिहीबारदेखि शनिबारसम्म काठमाडौँ उपत्यकासहित कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको मौसमविद्हरूले बताएका छन्। मौसमको अवस्था स्पष्ट हुन अझै केही समय लाग्ने भएकाले वर्षा र हिमपातको मात्रा तथा प्रभावित क्षेत्रबारे थप अद्यावधिक विवरण आउने बताइएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक ११ गतेदेखि सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले कात्तिक १२ गते रातिदेखि चक्रवातको प्रभाव बढी देखिन सक्ने भन्दै सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको हो।
प्राधिकरणले किसानलाई कात्तिक १२ गतेअघि नै धान काट्ने र भित्र्याउने काम सक्न तथा अत्यावश्यक कामबाहेक यात्रा नगर्न सुझाव दिएको छ। हिमाली क्षेत्रमा पदयात्रा र आरोहणमा नजान तथा यात्रामा निस्कनुअघि मौसमको अवस्था बुझ्न पनि आग्रह गरिएको छ।
सम्भावित वर्षा, बाढीपहिरो र हिमपातबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। सर्वसाधारणलाई मौसम पूर्वानुमान महाशाखा तथा सम्बन्धित आधिकारिक निकायबाट जारी हुने अद्यावधिक सूचना र चेतावनी पालना गर्न आग्रह गरिएको छ।

