भोटेकोशी बाढीका बेपत्ता परिवार डीएनए रिपोर्टको प्रतीक्षामा
बाँके। गत भदौ १० गतेको भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएका परिवारको दसैँ यस वर्ष डीएनए परीक्षणको रिपोर्ट पर्खँदै बितेको छ। बाढीमा हराएका आफन्तको अवस्था अझै अज्ञात रहँदा पीडित परिवार चाडपर्वका बेला पनि शोक र अन्योलमा छन्।
नेपालगञ्ज उपमहानगरपालिका–२०, थपुवाका अनलाल रोकायका दाजु ५३ वर्षीय शेरसिंह रोकाय, भाउजु ५६ वर्षीया विष्णुमती रोकाय र १९ वर्षीय भतिज दीपक रोकाय भोटेकोशी बाढीमा बेपत्ता हुनुभएको थियो। दुई महिना बितिसक्दा पनि उहाँहरूको अवस्था पत्ता लाग्न सकेको छैन।
बेपत्ता आफन्तको शवसमेत फेला नपरेपछि सामाजिक संस्कार गर्न कठिन भएको अनलालले बताउनुभयो। उहाँले नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना दिनुभएको छ। तर, रिपोर्ट नआउँदा आफन्तको अवस्था यकिन गर्न नसकिएको उहाँको भनाइ छ।
अनलालले सरकारले डीएनए परीक्षणको नतिजा र बेपत्ता व्यक्तिबारे आधिकारिक जानकारी परिवारलाई दिनुपर्ने माग गर्नुभएको छ। आफन्तको मृत्यु भएको वा फेला पार्न नसकिने गरी बेपत्ता भएको आधिकारिक घोषणा भएपछि मात्रै सामाजिक संस्कार गर्ने सोच बनाएको उहाँले बताउनुभयो।
यस्तै, रोजगारीका लागि रसुवा पुगेका नेपालगञ्ज–२० का आराम दमाईं र उजना दमाईं पनि सोही बाढीमा बेपत्ता हुनुभएको छ। उहाँहरूका १६ वर्षीय छोरा सुभास नेपाली, ११ वर्षीय छोरा अश्विन र नौ वर्षीया छोरी स्मारिका आमाबुवा फर्किने आशामा छन्। डीएनए रिपोर्टको प्रतीक्षामा रहेका बालबालिकाको पालनपोषण र शिक्षाका लागि सहयोग आवश्यक रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।
नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि बाँकेका १६ जना आफन्तको डीएनए नमुना भेरी अस्पतालमा सङ्कलन गरी पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। अन्य आफन्तको काठमाडौँ र चितवनस्थित अस्पतालमा नमुना सङ्कलन गरिएको छ।
प्रहरीका अनुसार डीएनए परीक्षणका लागि बेपत्ता व्यक्तिका नजिकका नातेदार, जस्तै बाबु, आमा, छोरा वा छोरीको रगतको नमुना सङ्कलन गरिएको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार भोटेकोशी बाढीपछि जिल्लाका २३ जना अझै बेपत्ता छन्। तीन जनाको शव पहिचान गरी मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ।

